24 Jan 2014

शम्भुदाको चिया पसल

"शम्भुदा" हामीले सम्मानसाथ बोलाउने नाम / उमेरले प्रौढ भएपनि विचारले युवा / पुतली सडकमा शम्भुदाको "चिया पसल" भनेर थाहा नपाउने व्यक्ति बिरलै होलान् / बाग्मतीमा कति पानी बग्यो तर दुई दसकदेखि त्यहि ठाऊँमा त्यहि पेशा / शैक्षिक परामर्शदाता,बिद्यार्थी, गायक, गीतकार, संगितकार,र सिनेकर्मीहरुको संगमस्थल नै हो यो / अनि उधारो खानेहरूका लागि तीर्थस्थल / अझ फ्री वाई-फाई। वाह !सुनमा सुगन्ध / एककप चिया होस् वा एकखिली चूरोट पिएर एक-दुई घन्टासम्म बसेर ईन्टरनेटको  मजा लिनेहरूको कमी छैन यहाँ / " दिलका उदार र मनका धनि " शम्भुदा दोलखाबाट काठमाण्डु आउनु भएको हो / सगैँ आएका मध्ये कतिले राम्रो कमाई गरेर आनन्दसाथ बसेका छन् / तर गुमनाम छन्, चिनेकाछन् त मात्र उनीहरूका आफन्तले /  तर सोचे अनुसार तरक्की नभएपनि, आर्थिकरूपमा चमत्कारिक परिवर्तन नभए पनि सधैं शान्त, धीर ,र मुस्कान प्रेमी शम्भुदा पसलबाट पैसाभन्दा पनि इज्जत,मान र सम्मान कमाएर बस्नुभएको छ /  पसलमा  उधारो खाएर पैसा नतिर्नेहरुको नाम सायद लिस्टमा समेट्न पनि गाह्रो हुन्छ होला / तर पनि वहाँको मुहारमा चिन्ताको झलक देख्न पाईदैन / तर व्यवसायिक शैलीमा पसल संचालन गर्नखोज्ने वहाँका छोराहरु शम्भुदाको यो उदारताप्रति रुष्ट छन् / कहिलेकहिं म ठट्टा गर्दै भन्छु " तपाईं त समुन्द्र नै हो जसबाट एक -दुई गाग्रो पानी निकालिकन केही फरक पर्दैन /" वहाँ मात्र यसो भन्नुहुन्छ " के गर्नु बाबु, यस्तै हो /"  वास्तवमा " लिँदा ख़ुशी हुनेभन्दा दिँदा ख़ुशी हुने" शम्भुदाको चरित्र हो / वहाँको लागि " सामान बेच्नु" नै ठूलो कुरा होइन /  उमेर अनुसार यो खानु ठीक -यो खानु बेठीक भनेर सल्लाह सुझाव समेत दिनुहुन्छ / त्यसैले त वहाँका  सुभचिन्तकहरु यूरोपदेखि अमेरिकासम्म  अनि आस्ट्रेलियादेखि इण्डियासम्म नै छन् /