2 Aug 2015

रुप्पाटोलको ताडी र तीननम्बरको जाँड

श्रावणको महिना, धर्म कर्ममा विस्वास गर्नेहरू " बोल बम" भन्दै तिर्थतिर लागे भने म हानिएँ आफ्नो गाउँ मोरंग जिल्लाको झुर्कियातिर। काठमाडौँ मा बसेपनि गाउँ सम्झने बित्तिकै मनमा एककिसिमको आनन्द संचार हुन्छ / आफ्नो वालापन याद आउँछ / अहिले पनि प्राय ती रूखहरू ठाडै छन् जसमा हामी चड्ने गर्थ्यौं / फूटबल खेल्ने खेतका गह्राहरू अहिले पनि जस्ताको त्यस्तै छन् / बिरसिंह हस्दा दाइको खेतमा भएको फूटबल म्याचमा कपरसुकालाई हराएर उपादी स्वरूप ''कुखुराको भाले'' जीतेर ल्याउँदा लगाएको नारा" किप्पर कस्तो - चुम्बक जस्तो'' ब्याक्की कस्तो - भित्ता जस्तो'' अहिले पनि ताजै भएर आउँछ/ यो म्याचमा सागर कोइरालाले कर्नरबाट प्रहार गरेर गोल गरेका थिए / रुप्पाटोलमा ताडी (सुपाडीको जस्तो बोटमा फल्ने लामा र मोटा कोसाबाट निकालिने रस ) र तीननम्बरमा जाँड खान जाने खेतका आली ताछिएर पातला भएपनि अहिलेसम्म उभिएकै छन् / कार्तिकको चिसो महिनामा रातभर जाग्राम बसेर पुर्वटोलमा "राम लीला'' कंशबध '' राजा हरिषचन्द्र'' नाच हेरेको कसरि बिर्सन सकिदोरहेछ र / कुडेली,पैयाँमारी,सिजुवा अनि हाम्रो गाउँमा पालेका पोथी हात्तीहरूलाई गर्भादान गर्न आउने भाले हात्ती (कसैले गणेश महाराज भन्थे भने कसैले बहुला हात्ती )लाई माटाको डल्लाले हिर्काउँदै बैशाख-जेठका टन्टलापुर घाममा खेतका आली-आली (कान्ला-कान्ला) दगुरेको / असार-श्रावणको गर्मीमा भगिरथ ताजपुरिया दाइको यो पोखरीमा कसले पौडी खेलेन होला र? पोखरीको वीचमा रहेको काठको किल्लामा को अगाडि पुग्ने बाजी नै पर्थ्यो / तर दूर्भाग्य हाम्रोभन्दा पछिल्लो पुस्ताका भाइ नारायण पौडेलको यस पोखरीमा पौडी खेल्दा-खेल्दै दुखद निधन भएपछि सबैको पौडी मोह भङ्ग भएको थियो /