28 Jun 2016

पूर्वको रातो तारा


नेपाल कम्युनिष्ट पार्टी (एककृत मार्क्सबादी-लेनिनबादी) का महासचिब ईश्वर पोखरेल कसैले चिनाईराख्नु पर्ने नाम होईन। उनी नेपाली राजनीतिका सुपरिचित हस्ती हुन्। पार्टीमा अहिलेसम्म स्वच्छ छविका रूपमा चिनिएका उनी भरसक "गुटगत" राजनीतिबाट टाढा नै रहन मन पराउँछन्। पाँच दसक लामो राजनीतिक ईतिहास बोकेका उनले हालैमात्र शहिद रत्न कुमार वान्तवाको सम्झनामा, सम्मानमा "पूर्वको रातो तारा" नामक पुस्तक बजारमा ल्याएका छन्। अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसन प्रकाशक रहेको उक्त पुस्तकमा झलनाथ खनालले भूमिका लेखेका  छन्। आज नेपाली पाठकहरूका माझ अनेक किम्बदन्ती, तिलस्मी कुरा जोडेर सस्मरण लेख्ने र प्रकाशन गर्ने होडबाजी नै चलेको छ। पुस्तक '' किन र के उदेश्यको " लागि लेख्ने? भनेर लेखक र पाठकमाझ बहस चलिरहेको अवस्थामा '' पूर्वको रातो तारा'' पुस्तकको आगमन भएको छ। बिशुद्ध राजनीतिक चेत बोकेको यस पुस्तकमा शहिद रत्न कुमार वान्तवाको सम्झनासगैँ लेखकको जीवनी पनि साथसाथै जोडिएर आएको छ। सरल सहृदयी वान्तवा पठन पाठनमा अत्यन्त रुचि राख्ने , मिहिनेती, कर्ममा विश्वास गर्ने र अन्याय अत्याचारको विरोध गर्ने एक वैचारिक व्यक्ति थिए। विदेश पढ्न जान छात्रवृति उपलब्ध भएर पनि त्यसलाई लात हानेर आवाज विहीन जनताको आवाज उठाउन गाउँ गाउँ, बस्ती बस्ती हिँडेको तथ्य पुस्तकमा उल्लेख छ। निरंकुश तानाशाही पंचायती व्यवस्थाको विरूद्ध, जनताको गाँस, बास, कपास र स्वतन्त्रताको ग्यारेन्टीको निमित्त आफ्नो जीवनलाई आहुती दिने वान्तवालाई नेपालको कम्युनिस्ट आन्दोलन अझ त्यसमा पनि '' को अर्डिनेसन केन्द्र" को स्थापना, संगठन विस्तारमा उनले निभाएको भूमिकालाई यसमा गहनरूपमा समेटिएको। न्यायप्रेमी सर्वहारा वर्गको मुक्तिका लागि आफ्नो जीवन अर्पण गरेका  वान्तवा संगठन विस्तारकै क्रममा देश र जनताको मुक्तिका लागि शहिद भएको कुरा लेखकले गम्भिर ढंगले उठाएका छन्। 
 घर परिवारबाट टाढा रहेर कोठा भाडामालिई एक्लै बसेका लेखकलाई ज्वरो आएका बखत निधारमा हात राखेर वान्तवाले '' गुरु के भयो ?" भन्दा लेखकलाई भएको अनुभूतिले  पाठकलाई  पनि छुन्छ।
       आफूलाई  न्यायप्रेमी जनताको लेखक ठान्ने  '' प्रदीप नेपाल"ले स्वयम् लेखकप्रति गरेको अन्यायलाई पनि लेखकले पुस्तकमा उल्लेख गरेका छन्। समग्रमा लेखकले ईतिहासको महत्व विर्सदै गएका आजको युवा पुस्तालाई बिगतको राजनीतिक अवस्था त्यसमा जनताको मुक्तिको लागि भएको बलिदानीपूर्ण संघर्ष र योद्धाहरूको योगदानको बारेमा सरल भाषामा लेखिएको यो पुस्तक पठनीय,सरसपूर्ण, मननयोग्य र अविस्मरणीय छ।