26 Mar 2013

पूजा

वय हो सोह्र सत्रैको खेल हो दिब्य ईशको
व्याख्या गर्न कहाँ सक्नु रूप नै पूर्ण चन्द्रको  /
                       (१ )

उषाको कलिलो लाली जब पर्छ मुहारमा
टल्कन्छ स्वर्ण झल्का नै पर्दा शीत  प्रशूनमा /
                      (२ )

थाली भरि छ है ऐले धूप बत्ती प्रसादले                                    
पूजा गर्छिन् सधैं आई भक्ति भाव सुवासले /                
                     (३ )

दीप बाल्छिन् बनी ध्यानी श्रद्धा प्रेम सुभावले
खुशी बाड्छिन् खुशी बन्दै अर्ध मुदित नेत्रले /          
                       (४ )

ओठमा खेल्छ मुस्कान लगाई फूल चन्दन
पूर्ण -पूर्ण सबै लाग्छ देखेर प्रेम नन्दन /
                         (५ )

१७ जेठ २०७१, IMAGE NEWS 103.6 F.M.बाट प्रसारित। 

20 Mar 2013

झुर्किया

" झुर्किया" यो  मोरंग जिल्लाको पूर्व-दक्षिणमा अवस्थित  गा .वि .स . हो / जसको दक्षिण सीमा भारतको बिहारसंग जोडिएको छ / पूर्वमा महादेवा गा .वि . स . तथा झापा र मोरंग छुट्याउने "रतुवा" खोला छ ( दुई वर्षदेखि पक्काको पुल निर्माण सुरू भएको तर हालसम्म पनि पूरा नभएको ) भने उत्तर तर्फ  सिजुवा गा . वि  . स . पर्दछ / बिराटनगरबाट ३५  कि  . मी . पूर्वमा पर्ने यस गा . वि . स .को उत्तरतिरको भागलाई चिर्दै " हुलाकी राजमार्ग " लमतन्न  परेर सुतेको छ / यो ठाउंको नाम " झुर्किया" कसरी रहन गयो, यो रहस्यकै गर्भमा छ / ९५ % मधेसी र ५  % पहाडी मूलका मानिस बसोबास गर्ने यस गा . वि . समा मुसलमान समुदायको पनि उपस्थिति रहेको छ / यस  गा . वि . स .को जनसंख्या ........रहेको छ / मधेसी मूलभित्र पनि बिभिन्न जाती रहेका छन् / जस्तै - ताजपुरिया , राजबंशी,  गनगाई आदि / यिनीहरू यहाँका आदिबासी  हुन् / यिनीहरूको आफ्नै भाषा छ / त्यसैगरी यादव , मुसहर , सरदार , संथाल आदि छन् / पहाडी मूलमा पनि बाहुन तथा छेत्रीहरुको बाहुल्यता छ / यति हुँदा -हुँदै पनि बिभिन्न  जात -जाती तथा भाषा-भाषीका बीच सुमधुर सम्बन्ध छ /  एकले अर्कालाई सम्मानले हेर्छंन्  तर कहिलेकाहिं राजनीतिक भड्कावले विषाद उत्त्पन्न हुन खोजेपनि त्यो क्षणभरमा नै विलिन  हुनपुग्छ / गा .वि .स भरिमा एउटामात्र माध्यमिक विद्यालय छ " श्री मा .वि . झुर्किया  / " भने प्रत्येक वडामा १ वा २ वटा प्राथमिक विद्यालयहरू रहेका छन् / यसैगरी गा .वि . स . भरिमा    एउटा " ईलाका स्वास्थ्य कार्यालय " छ /  भौतिकरूपमा सुबिधा सम्पन्न भवनहरू भएतापनि बिरामीहरूले खासै सेवा  लिन सकेका छैनन् , डाक्टरहरुको अनुपस्थितिले गर्दा /
           पीचबाटो( उर्लाबारी - बरदंगा खण्ड ) ले गा . वि . स .को एउटामात्र  ८ नम्बर वडालाई छोएको छ / बाँकी सबै सडकहरू कच्ची छन्  / तथापि यातायात व्यवसायीहरुले अनेक समस्याका बाबजुत पनि सेवा सञ्चालन गरेका छन् / बिजुली-बत्ती भएपनि आर्थिक अभावका कारण सर्वसाधारणको पहुँचभन्दा बहिर छ / यहाका मानिसको मुख्य पेशा कृषी  हो / जमीन उर्वर छ / तर सिंचाईको व्यवस्था नहुनाले आकासको भरमा खेती गर्नुपर्ने बाध्यता छ / '' आकासको फल आँखा तरी मर " भनेझै बर्षा नभएको बेला यस्तो उर्वर भूमि " गौचरणमा" पारिणत हुन्छ / केही साल अगाडिसम्म आय आर्जनका लागि मधेसीमूलका युवाहरू भारत ( दिल्ली, पंजाब ) जाने गर्दथे भने हाल खाड़ी मुलुकतिर जान थालेका छन् /  जसको परिणाम आज उनीहरूको रहन -सहनमा प्रत्यक्ष देख्न सकिन्छ /