27 Apr 2013

झुर्कियामा गोरु चोरी

२०४८ बैषाख २ गते बिहानको साढे दुई बजेतिर गाउँमा एकाएक आगो फैलिएझैं हल्ला फैलियो " पारिगाउँ साहिला  पोखरेलका गोरु चोरी भए रे " / गर्मीकै दिन भएपनि बिहानीपखको चिसो वातावरण अचानक तात्यो / यो हल्ला सुन्नेबित्तिकै सबैले एकपटक आ-आफ्नो गोठमा गाई-गोरु हेरेर"धन्न आजलाई बाँचिएछ भन्दै" ढुक्क भए/अहो, कस्तो दु:खलाग्दो कुरा/असारमास खेतीगर्ने गोरु चोरी भए/ सीमावर्ती गरीव किसानमाथि अर्को बज्र प्रहार भयो/ गाऊँले आ-आफ्ना तर्क-बितर्क गर्दै पारी गाउँतिर गए / म पनि हान्निएँ उतैतिर / दुब्ला-पातला सांल्दाई टाउकोमा हात राखेर टुक्रुक्क बसेका थिए किन पो नबसुन् र बिचरा? छिमेकी भण्डारी भिनासँग ऋण खोजेर एकमहिना अगाडि मात्र झापाको "दामनाबाट" किनेर ल्याएका गोरु चोरी हुँदा/ उनको अनुहार मलिन थियो / आँखाबाट आँशु गालासम्म आएका थिए / त्यसै त सानो स्वरमा बोल्ने सांल्दाई आज बोल्न सकेका थिएनन्/उनीमाथि ठूलो बिपत  आइलागेको थियो / उनको स्थिति देख्दा मन भित्रैबाट माया जागेर आयो/सान्त्वना दिने आँट गर्न सकिन अनि शब्द पनि थिएन/ मैले मनमनमा सोचें"हिजो मोटे निरौला, भुवनदाइ,एके पोखरेल, रंगलाल, भागीरथलगायत कयों पिडित बने अझ भोलि अरू कति बन्नेछन् / 

      सांल्दाई त एउटा प्रतिनिधि पात्र मात्र हुन्/ यस्ता घटना अझै कति भोग्न बाँकी नै छन्/आँगनभरि गाउँलेहरू जम्मा भएका थिए / कोही गोठमा गएर अनुशन्धान गर्दै थिए/फलामको सांग्ली नै काटेको रहेछ / "के भन्ने-के गर्ने" अवस्था थियो/ असम्भव भएपनि शरिरमा तागत भएका युवाहरू "कतै गोरु भारतीय सीमाक्षेत्रतिर भेटिन्छ कि" भन्दै साइकल टिपेर कुदे/बाँकी रहेका व्यक्तिहरू मलामीझैं उभिएका थिए अनि अनेक अड्कलबाझी गर्दै बसेका थिए/ सालदेखि आजसम्म भएका सम्पूर्ण चोरीका घटनाक्रम रोचक ढंगले प्रस्तुत गर्दै थिए / बालुराम दाइले खैनी निकालेर हातमा मल्दै भने" राति १ बजेसम्म त गोरु थिए रे,साल्दाइ पिसाब गर्न उठेका बेला गोरु बसेर उघ्राईरहेका थिए रे / त्यस पछाडि चोरी भएछ / अब खोज्न गएर कहाँ भेटिन्छ , इण्डिया पुर्याइसके / यस्ता फुर्तिला गोरु यार  ......./ "  कोही बीचमा बोल्यो " भैंसी चै लगेनछ ? " " थारो भैंसी किन चोर्थ्यो र ?" होमदाइले निकै गम खाएर सुस्तरी भने / अलिक परबाट असीम पीढाले भरिएको महिला आवाज आयो " गरी खान नदिने भए है , जति गरे पनि यीनैलाई ठीक्क /" वातावरण गम्भिर बन्यो / 

         एकक्षण कसैको मुखबाट आवाज निस्किएन / सायद सबैले यही सोच्दै थिए क्यार  " प्रभु , मेरो चै यो दिन नआओस /" रिजालदाइले मसिनो स्वरमा भने" अब दह्रा गोरु राख्न नहुने भयो / "बालुरामदाइको प्रत्युत्तर कडारूपमा आयो" मर्या गोरुले खेती उठाउन सक्छन् माल्दाइ, कस्तो कुरा गर्नु भएको /'बालुरामदाइको कुरालाई कसैले पनि नाई भन्न सकेनन् / मौन रहेर समर्थन जनाए / केही समयपछि साइकलमा गएकाहरू असिन-पसिन हुँदै आए / उनीहरूको आगमनले सांल्दाईको  अनुहारको भाव परिवर्तन भयो / उनी जुरुक्क उठेर अगाडि आए  / पुण्यजीले एकै सासमा भने  " हामी पेयाकटोला, डोरिया सबै गयौं तर कतै केही पत्ता लागेन / " केहीक्षण पछाडि अर्को टोली  पनि आइपुग्यो / तर निरास मात्र हात लाग्यो / देबुदाइले भने " गोरु रानिकटा पुर्याइसके यहाँ खोज्दा हुन्छ " उनको सटिक कुराले सबैलाई स्तब्ध बनायो / बिस्तारै-बिस्तारै भिंड पातलिँदै गयो / अन्त्यमा जाँदा-जाँदै मैले सांल्दाईलाई हेरें उनी क्लान्त, थकित मुद्रामा त्यसरी नै बसेका थिए /

             हप्तादिन पछि / झुर्किया-५ निवासी उस्मान मीयांले खबर ल्याए " टेडागाछ प्रहरी थानामा चोर सहित छ -सात हल गोरु पक्डिएको छ , एकपटक हेर्न जानू / " उस्मानदाइ ठूलो मात्रामा  घरका काठ किनेर भारत लगेर बेच्ने काम गर्थे यसो भनौं प्रहरीको मिलेमतोमा काठको तस्करी गर्थे / उनको कुरालाई शिरोधार्य गर्दै अन्तरे (टिकाराम पोखरेल) काकाले हामीलाई बुझ्न जान आग्रह गरे / मित्र बिष्णु पोखरेल र म साइकल लिएर निस्कियौं टेडागाछ थानातर्फ / हाम्रो गाउँबाट करिव ६ कि .मी .दक्षिण लागेपछि नेपाल- भारत सीमा छुट्याउने जंगे स्तम्भ आऊँछ /
          भारतीय सीमा प्रवेश गरेपछि मनमा अनेक तर्क उठ्न थाले / म योभन्दा अगाडि  एकपटक मात्र बुवासँग फुल्बडिया आएको थिएँ / त्यहाँबाट हामी अझै ३ कि .मी . दक्षिण गएपछि फुल्बडिया बजार पुग्यौं / फुल्बडिया बाजारबाट पूर्व करिव ३ कि.मी .दूरी पार गरेर हामी टेडागाछ थाना पुग्यौं / साईकल कतै नरोकि मूलगेटबाट भित्र पसेका मात्र के थियौं एउटा कडा आवाजले हामीलाई झस्कायो " रूको /" यसो टाउको घुमाएर पछाडि हेरेको त पुलिस बर्दिमा शर्ट र हाफ पेण्ट लगाएर हातमा कठबाँसको लौरो बोकर एउटा पुलिस उभिएको थियो / हतार-हतार साइकल अड्याएर उसको छेउमा गयौं / उसले कडा र रुखो स्वरमा प्रश्न गर्यो " कहाँसे आए हो ?" मैले हिन्दी उपन्यास पढेको भरमा टुटे-फुटे हिन्दीमा भनें " नेपालसे /" उसले पून: लौरो भुईंमा बजार्दै बोल्यो" नेपाल कहाँ से?" मैले "झुर्कियासे भनें" सायद उसले झुर्किया सुनेको थियो कि थिएन पून: उही रवाफका साथ भन्यो" क्यों आए हो ?'' उसको रवाफ तथा हामीप्रतिको आक्रामक शैलिका कारण मेरो ओठतालु सुकिसकेको थियो / थुकले मुख भिजाऊँदै मन्द आवाजमा भनें ''१५ तारिकमे हमारे पड़ोसिका बयल(गोरु)चोरी हुआथा, मालुम हुआ यहाँ पकडा हुआ है इसिलिए आएँ हैं /" अब बल्ल ऊ शान्तझैं देखियो अनि भित्र कोठातिर देखाउँदै भन्यो " क्या इसने चोरा है ?" मैले यसो भित्रतिर हेरें एउटा मोटो तथा अग्लो मानिसलाई थुनेर राखेको रहेछ / मैले " मालुम नहि हुआ साब " भनें/ उसले पछाडितर्फ इंगित गर्दै भन्यो " उधर देखो /"

               हामी पछाडि गयौं / साँच्चै नै आँपका रूखमुनि गोरु बाँधेका थिए / बिष्णुले हेरे तर त्यहाँ सांल्दाईका गोरु थिएनन् / नजिकै चार-पाँचजना मान्छे बसेका थिए जसमा थानाकै बहिदार पनि रहेछ / उनीहरू मध्ये कसैले सभ्य भाषामा सोध्यो "क्यों आए हो?" मैले अगाडिझैं उत्तर दिएँ / उसले पून: गम्भिर तर सौदाबाजी गर्ने हिसाबले भन्यो " पैसा दोगे, हम बतादेंगे बयल /" अब मलाई हल्का डर महशुस हुनथाल्यो तथापि भनें " दखिए अभि हमारेपास पैसा नहीं है /" उसले फिल्मिशैलीमा फेरि भन्यो " पहले पैसा लाओ तब बादमे बात होगा /" मलाई त्यहाँ बस्न उचित लागेन यसो भनौं डर लाग्न थाल्यो / प्रहरी चौकिमा खुल्लम खुल्ला पैसा माग्छ/ कस्तो गजबको संस्कार / सोचें "हामीलाई एक-एक झापड हानेर साइकल खोस्यो भने / "अनि मैले सुस्तरी,त्यहाँबाट उम्कने हिसाबले भनें " ठीक है, हम बाबुजीको भेजदेंगे /" उसको कुनै कुराको प्रतीक्षाबिना नै यताउति कतै नहेरी हामी साइकल टिपेर कुलेलम ठोक्यौ।

7 Apr 2013

फोकटिया टोल

'' फोकटिया टोल " झुर्किया गा .वि .स को ७ नम्बर वडा / अचम्म र उदेक लाग्दो नाम / यो नाम सुनेर तपाई एकपटक हाँस्नु भयो होला / यो नामको पछाडि रमाइला कुराहरू छन् / यहाँ मधेसी मूलका " ताजपुरिया " जातिको बर्चस्व छ / तीन घर मात्र पहाडी मूलका परिवार बस्ने यो टोल अनेकतामा एकता छ / विहान र बेलुका "भद्रचौकमा " भद्रेदाइको चिया पसलमा एककप चिया पिएर २ - ३ घन्टा गफ गरेर बस्नु आदत नै हो / यो आदतसँग म पनि अछुतो रहन सक्दिन / मंग्लूदाइ ( बरबरिया ) आएनन् भने चौक नै खल्लो महसुस हुन्छ / मलाई पनि चीनी बिनाको चिया झैं लाग्छ / धेरै र बेस्मारी बोल्ने उनको आदत हो / उनी धेरै बोल्नेभएकाले सायद उनको यो नाम गाउँलेले जुराएको हुनुपर्छ /  अगाडिका  दाँत खुस्किएका "बरबरिया दाइ" नेपाली कांग्रेसका समर्थक पनि हुन् / नेपाली कांग्रेसको झन्डा भएको टि- शर्ट नै लगाएर आफुलाई पक्का कांग्रेस भएको प्रमाणित गर्न पछि पर्दैनन् / उनलाई कांग्रेसको नीति तथा विचार थाहा छैन, थाहा छभने मात्र  "गिरिजा प्रसाद र आमोद बाबु / " ( दुवैजना हाम्रो क्षेत्रबाट प्रधानमन्त्री र मन्त्री भएका) /            
         यस टोलका अर्का व्यक्ति हुन् "कान्छा राई " तर उनलाई  हामी "कान्छा  दाइ" भन्छों / उनी विहान ७ बजेबाट १२ बजेसम्म त्यही भद्रेदाइको चिया पसलमा बसेर म्यान्मार ( बर्मा) देखि नेपलसम्मको र हिन्दी फिल्म " नील कमल " देखि नेपाली फिल्म "साइनो" सम्मका कहानी जोडेर सुनाउन  पोख्त छन् / उनी बर्माबाट आएका हुनाले उनका प्रत्येक कुराको सुरुवात र अन्त्य म्यानमारका सहर रंगुन , मचिना , मांडलेमा यस्तो हुन्थ्यो - उस्तो हुन्थ्यो भनेर भन्न छुटाउदैनन् / मलाई उनले धेरै पटक पुराना हिन्दी फिल्मका कहानी सुनाएका छन् / तर मैले आजसम्म थाहानपाएको कुरा उनी कुन पार्टीका हुन् ? भन्ने / उनी सबै पार्टीको बिरोध गर्थे र समर्थन पनि / यही बीचमा दुई पात्र प्रवेस गर्छन् , मोहन र चुनमुन पौडेल दाइ /  मान्छे साना कदका  भएपनि कुरा भने ठूला गर्ने चुनमुन दाइ "फोकटिया " टोलमा कमै बस्थे / बिराटनगरका धेरै फ्याक्ट्रीमा काम गरेको छु भन्न रूचाउने चुनमुनदाइ  कहिले साबुन फ्याक्ट्रीका कुरा सुनाउथे त कहिले बिस्कुट फ्याक्ट्रीका / अनि कहिले जुटमीलको मजदुर आन्दोलनका बारेमा  / र आफू सो आन्दोलनमा  प्रत्यक्ष संलग्न भएको पनि बताउथे /
            यो टोलको अर्को  अनौठो पात्रको  नाम हो  " भंगी " / घर परिवार हुदा हुदै पनि बेघरजस्तो / आफूलाई शिवजीको प्रतिरूप मान्ने भंगी शरीरमा खरानी घसेर, घाँटीमा अनेक माला भिरेर, हातमा डमरू र त्रीशुल लिएर "बम-बम भोले " भन्दै रमाइलो-रमाइलोमा नै गाँजा तानेर"जोगी " भएको / कहिले काहीं त गोबन सर्प घाँटीमा समेत बेरेर  हिंड्ने गर्थ्यो / ऊ झापाको दमकदेखि मोरंगको बिराटनगरसम्म परिचित थियो  / मैले उसलाई एककप चिया खुवाएर गोबन सर्पलाई खेलाएको- नचाएको हेरेको छु / यो अनौठो परिवेशको संगम " फोकटिया टोल "लाई म भुलेर पनि बिर्सन सक्दिन /       

6 Apr 2013

सुधा



सुधाको घडा नै उठायौ तिमीले
कहाँ बोक्न सक्यौ फुटायौ  तिमीले /
                  (१ )

न माया छ सस्तो न बिक्री गरिन्छ
उधारो कुरा झैं बिकायौ तिमीले /
                  (२ )

थियो आस धेरै बनायौ निराश
लगाएर नाता टुटायौ तिमीले /
                  (३ )

न आनन्द पायौ रुवाएर प्रेमी
बरू ती पराई हँसायौ तिमीले /
                   (४ )

१ चैत्र , २०७०  रेडियो मैत्री नेटवर्कबाट प्रसारित। 

प्रथम भेट


तिम्रो चुलबुले बानी बालकको सामान छ
लागेन कहिले झर्को लाग्यो आनन्द दायक /
                      (१ )

नियालेर न ता  मैले हेरें तिम्रो मुहारमा
लाजवन्ती तिमी उस्तै कहाँ सक्यौ र हेर्न नै /
                      (२ )

न बोल्यौ धेर  खै त्यस्तो न बस्यौ है समीपमा
लुकिचोरी परैबाट हाँस्दै हेर्ने  मुहारमा /
                      (३ )

पहिलो भेट खै कस्तो , कस्तो अचम्म चालको
दुंगो खस्दा छछल्किञ्छ  पानी समेत तालको .
                       (४ )

नमेटे नेत्रले प्यास नभेटे त्यो निवास नै
दुवैतर्फ चिसो राख्दा कहाँ उठ्छ र ताप नै /
                         (५ )






26 Mar 2013

पूजा

वय हो सोह्र सत्रैको खेल हो दिब्य ईशको
व्याख्या गर्न कहाँ सक्नु रूप नै पूर्ण चन्द्रको  /
                       (१ )

उषाको कलिलो लाली जब पर्छ मुहारमा
टल्कन्छ स्वर्ण झल्का नै पर्दा शीत  प्रशूनमा /
                      (२ )

थाली भरि छ है ऐले धूप बत्ती प्रसादले                                    
पूजा गर्छिन् सधैं आई भक्ति भाव सुवासले /                
                     (३ )

दीप बाल्छिन् बनी ध्यानी श्रद्धा प्रेम सुभावले
खुशी बाड्छिन् खुशी बन्दै अर्ध मुदित नेत्रले /          
                       (४ )

ओठमा खेल्छ मुस्कान लगाई फूल चन्दन
पूर्ण -पूर्ण सबै लाग्छ देखेर प्रेम नन्दन /
                         (५ )

१७ जेठ २०७१, IMAGE NEWS 103.6 F.M.बाट प्रसारित। 

20 Mar 2013

झुर्किया

" झुर्किया" यो  मोरंग जिल्लाको पूर्व-दक्षिणमा अवस्थित  गा .वि .स . हो / जसको दक्षिण सीमा भारतको बिहारसंग जोडिएको छ / पूर्वमा महादेवा गा .वि . स . तथा झापा र मोरंग छुट्याउने "रतुवा" खोला छ ( दुई वर्षदेखि पक्काको पुल निर्माण सुरू भएको तर हालसम्म पनि पूरा नभएको ) भने उत्तर तर्फ  सिजुवा गा . वि  . स . पर्दछ / बिराटनगरबाट ३५  कि  . मी . पूर्वमा पर्ने यस गा . वि . स .को उत्तरतिरको भागलाई चिर्दै " हुलाकी राजमार्ग " लमतन्न  परेर सुतेको छ / यो ठाउंको नाम " झुर्किया" कसरी रहन गयो, यो रहस्यकै गर्भमा छ / ९५ % मधेसी र ५  % पहाडी मूलका मानिस बसोबास गर्ने यस गा . वि . समा मुसलमान समुदायको पनि उपस्थिति रहेको छ / यस  गा . वि . स .को जनसंख्या ........रहेको छ / मधेसी मूलभित्र पनि बिभिन्न जाती रहेका छन् / जस्तै - ताजपुरिया , राजबंशी,  गनगाई आदि / यिनीहरू यहाँका आदिबासी  हुन् / यिनीहरूको आफ्नै भाषा छ / त्यसैगरी यादव , मुसहर , सरदार , संथाल आदि छन् / पहाडी मूलमा पनि बाहुन तथा छेत्रीहरुको बाहुल्यता छ / यति हुँदा -हुँदै पनि बिभिन्न  जात -जाती तथा भाषा-भाषीका बीच सुमधुर सम्बन्ध छ /  एकले अर्कालाई सम्मानले हेर्छंन्  तर कहिलेकाहिं राजनीतिक भड्कावले विषाद उत्त्पन्न हुन खोजेपनि त्यो क्षणभरमा नै विलिन  हुनपुग्छ / गा .वि .स भरिमा एउटामात्र माध्यमिक विद्यालय छ " श्री मा .वि . झुर्किया  / " भने प्रत्येक वडामा १ वा २ वटा प्राथमिक विद्यालयहरू रहेका छन् / यसैगरी गा .वि . स . भरिमा    एउटा " ईलाका स्वास्थ्य कार्यालय " छ /  भौतिकरूपमा सुबिधा सम्पन्न भवनहरू भएतापनि बिरामीहरूले खासै सेवा  लिन सकेका छैनन् , डाक्टरहरुको अनुपस्थितिले गर्दा /
           पीचबाटो( उर्लाबारी - बरदंगा खण्ड ) ले गा . वि . स .को एउटामात्र  ८ नम्बर वडालाई छोएको छ / बाँकी सबै सडकहरू कच्ची छन्  / तथापि यातायात व्यवसायीहरुले अनेक समस्याका बाबजुत पनि सेवा सञ्चालन गरेका छन् / बिजुली-बत्ती भएपनि आर्थिक अभावका कारण सर्वसाधारणको पहुँचभन्दा बहिर छ / यहाका मानिसको मुख्य पेशा कृषी  हो / जमीन उर्वर छ / तर सिंचाईको व्यवस्था नहुनाले आकासको भरमा खेती गर्नुपर्ने बाध्यता छ / '' आकासको फल आँखा तरी मर " भनेझै बर्षा नभएको बेला यस्तो उर्वर भूमि " गौचरणमा" पारिणत हुन्छ / केही साल अगाडिसम्म आय आर्जनका लागि मधेसीमूलका युवाहरू भारत ( दिल्ली, पंजाब ) जाने गर्दथे भने हाल खाड़ी मुलुकतिर जान थालेका छन् /  जसको परिणाम आज उनीहरूको रहन -सहनमा प्रत्यक्ष देख्न सकिन्छ /