29 May 2014

जसो जसो मेडम त्यसो त्यसो स्वाहा

बैंकिंग क्षेत्रको इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड हो। यो बिक्रम सम्बत १९९४ साल कार्तिकमा स्थापना भएको हो। यसले स्थापना भएको ७६ औं वर्षको लामो समयावधि पार गरिसकेको छ। तीनताका कार्यालयमा कम्प्युटर प्रणाली नहुँदा पनि ढड्डामा कलम घोटेर, हात दुखाएर जनतालाई सेवा प्रदान गरेकै हो। तर इतिहास बोकेको, राम्रो नारा भएको भनेर मात्र कहाँ हुँदोरहेछ र ? समय र प्रबिधिको बिकाशसँगै चल्न सक्नु पर्ने रहेछ। बूढा तथा पुराना प्राबिधिक ज्ञान कम भएका कर्मचारी अनि नयाँ प्रबिधिको विकास। यहीँ चुकिरहेको छ नेपाल बैंक। यस वीचमा धेरै नीजि बाणिज्य बैंक, बिकाश बैंक र आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरू खुले। नीजि बैंकमा कम कर्मचारी हुँदा पनि उनीहरूको सेवासुविधा राम्रो र चुस्त छ। तर नेपाल बैंक लिमिटेडमा कर्मचारीहरूको संख्या अनुशार सेवा हेर्यो भने उदेक लागेर आउँछ।त्यसको ज्वलन्त उदहारण हो काठमाण्डुको "डिल्लीबजार शाखा'' / ११ जेठको दिन पानी परिरहेको थियो। बाटो बिस्तार गर्ने क्रममा बाटो भत्काएको हुनाले यो सडक हिलाम्य थियो। बैंकिंग काम परेकोले पानीमा भीज्दै म यो शाखामा पुगेको थिएँ। सर र मेडमहरू यूनिफॉर्ममा सजिएर आँखा तन्काउंदै, चस्मा मिलाउँदै सकि नसकी कम्प्युटरमा डाटा नियालिरहनु भएको थियो। वहाँहरूको स्थिति देख्दा ''सजाय दिएझैँ" लाग्थ्यो। चेक सटहिका क्रममा मेरो परिचय पत्रको फोटोकपी गर्नुपर्ने भयो। मेडमले ''फोटोकपी गरेर ल्याउनुहोस् '' भन्नुभयो। मैले '' यहाँ छैन?'' भनेर प्रतिप्रश्न गरेँ।वहाँले झर्किँदै '' हाकिमलाई कम्प्लेन गर्नुस्'' भन्नुभयो। म लुरुलुरु हिलो बाटोमा पानीमा भीज्दै पुतलीसडक पुगेर फोटोकपी गरेर गएँ। चेकको साइन भेरिफाई गर्ने बेलामा मलाई भित्र बोलाउनु भयो। कुनै पनि बैंकको टेलरमा जाने अनुमति हुँदैन सुरक्षाको कारणले गर्दा । कस्तो अचम्म। बाहिर ढोकामा चाहिँ हतियारधारी सुरक्षाकर्मी तैनाथ राख्ने अनि भित्र यस्तो लापरवाही। म भित्र टेलरमा गएँ। वहाँसँग चेक लिएर अर्को सरको टेबलमा पुगें। मेरो पछि अर्को ग्राहक पनि भित्र आउनुभयो। हामीले पनि ''जसो जसो मेडम त्यसो त्यसो स्वाहा'' गर्यौं। मैले आफ्नो रकम लिएँ। तर यो कुरामा मलाई चित्त बुझिरहेको थिएन। विषेश गरी सुरक्षालाई लिएर। अझभनौँ कर्मचारीको घोर लापरवाही प्रति। म सरासर शाखा प्रबन्धक यादव प्रसाद शर्माको कक्षतिर लागें। यो विषयमा जानकारी दिन। वहाँलाई सबै कुरा अवगत गराएँ। मेरो कुराले उहाँ अलिक झस्कनु भयो। वहाँले '' टेलरभित्र जाने अधिकार कसैलाई छैन। वहाँहरूले किन त्यस्तो गर्नुभयो म तुरुन्त बुझ्छु भन्नुभयो। फोटोकपी मशिनको दुरुपयोग भएकोले नाराखेको हुँ '' भन्नुभयो। र अन्त्यमा यो पनि भन्नुभयो ''फोटोकपी मेशिन माग गर्छु ''/  म वहाँलाई ''धन्यवाद'' भन्दै बाहिरिएं।  

No comments:

Post a Comment