5 Mar 2020

पर्यटकीय स्थल "रौजा मजार"

महोत्तरी जिल्लाको बलवा नगरपालिकामा रहेको रौजा मजार पनि पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थल हो। उक्त स्थल प्रदेश को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलो मिटर पश्चिम महोत्तरीको धमौरामा छ। इस्लाम धर्माबलम्बीहरुका लागि रौजा मजार सरिफ आस्थाको केन्द्र हो।
विग्ही नदीको पश्चिम किनारमा रहेको सो मजारको इतिहास तीन सय वर्ष पुरानो रहेको स्थानीयवासीहरु बताउँछन्। इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थल भए पनि हिन्दु धर्म मान्नेहरू पनि यहाँ ठूलो संख्यामा पुग्ने गर्छन्। दैनिक रूपमा भाकल गर्ने भाकल पूरा भएपछि चादर चढाउने श्रद्धालुमा कुनै एक धर्मको मात्र नभई सबै धर्म मान्नेको संख्या उल्लेख्य रहने गर्छ।
नेपाल बाइसे तथा चौविसे राज्यमा विभाजित भएको समयमा भारतको राजस्थानमा पर्ने अजमेरबाट तीन जना वली अर्थात अल्लाहका भक्तहरु बाबा गदाअली शाह, बाबा रहम अली शाह बाबा वहार अली शाह फकिरको रुपमा त्यहाँ आएको बताइन्छ। मिथिला क्षेत्रमा बसोबास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्म सम्बन्धी जानकारी दिने उदेश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उनीहरुलाई पठाएको हुनसक्ने ईस्लाम धर्माबलम्बीहरुको मान्यता छ।
यहाँ नेपाल तथा भारतका विभिन्न स्थानबाट दैनिक सयौँको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। खासगरि सोमबार बिहिबार भक्जतन पुग्ने गर्छन्। श्रद्धालु भक्तजनहरुले कुखुरा, बोकासमेतको बली दिने गर्छन्। हरेक प्रत्येक वर्ष चैत महिनामा बाबाको मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रुपमा मनाइने गरिन्छ। जसमा दुई लाखभन्दा बढी भक्तजनहरुको सहभागि हुने गरेको मजार समितिको भनाइ छ। उक्त अवसरमा श्रद्धालु भक्तजनहरुले करिब १० हजार बोका, १५ हजारभन्दा बढी कुखुराको बली दिने गरिन्छ।
 (साभार : देश संचार डट कम बाट)

No comments:

Post a Comment