15 Oct 2014

आँखामा राख्दा पनि नबिझाउने सन्थालहरू


हुन ता सबै व्यक्ति सिधा, सरल नै हुन्छन् तर जात नै सिधा, सरल कम नै हुन्छ। नेपालको पूर्वी जिल्ला झापा, मोरंग र सुनसरीमा यस्तो जाती छ जो वास्तवमै मृदुभाषी, तारिफको लायक र सलाम गर्न योग्य पनि छ। नेपालको आदिबासीको पहिचान बोकेको,आँखामा राख्दा पनि नबिझाउने त्यो जाती हो " सन्थाल"/ 
       गूगल सर्च  ईन्जिनले  करीब ४३ हजार जनसंख्या रहेको बताए पनि  नेपालको जनगणना २०६८ अनुसार यी तीन जिल्लामा करीव ६४-६५ हजार सन्थालहरूको जनसंख्या रहेको पाइन्छ। सबैभन्दा बढी झापा,मोरंगमा बसोबास गर्छन् भने थोरै संख्यामा सुनसरीमा बसोबास गर्छन्। भारतको झारखण्ड प्रान्तको दुम्का जिल्ला उद्गम स्थल भएपनि राजा  त्रीभूवनको पालादेखि नेपाल आएको अनुमान गरिन्छ। उनीहरूको आफ्नै भाषा छ। जसलाई सन्थाली भनिन्छ। हस्दा, सोरेन, मर्डी, टुडु, हेम्रन,मुर्मुआदि गरेर १२ वटा थर रहेको सन्थाल जातीमा मुर्मु पण्डितका रूपमा चिनिन्छ। उनीहरूको आफ्नै रीति-रिवाज र संस्कार छ।चाडपर्वमा माघ महिनामा सहराई पर्व मनाउछन् जून ५ दिनको हुन्छ।आफूलाई प्रकृतिको पूजारी मान्ने सन्थालहरू दशैंमा टीका नलगाए पनि खानपिन तथा मनोरन्जन गर्ने गर्छन्। दशैं नाचमा पुरुषहरू  नाच्दै, काम्दै र विभिन्न मन्त्रोच्चारण गर्दै काली मन्दिरमा जाने गर्छन्। तिहारमा महिलाहरू नाच्छन्। सधैँ सफा-सुग्घर भएर बस्न रुचाउने सन्थालहरू आफुमात्र होईन घर, आँगन, बाटो र गाउँ नै सफा राख्ने गर्छन्। उनीहरूको घरमा जाँदा आत्मिक शान्ति छाउँछ। कदमकदाचित आपसमा झैझगडा भईहालेपनि अड्डाअदालत नगईकन गाउँकै भद्र भलाद्मी बसेर समस्याको समाधान निकाल्छन्। जुन आफैँमा सुन्दर पक्ष हो। सुरुका दिनमा जङ्गली जनावर तथा  पंछीको सिकार गर्न  र माछा मार्न रुचाउने सन्थालहरूको अहिलेको मुख्य पेशा कृषि हो। हालका दिनमा युवाहरूले उच्च शिक्षा हाँसिल  गरेर सरकारी तथा विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुहुन्छ सिजुवा ८ कालिका प्रा वि का शिक्षक वीरसिंह हस्दा। भूमि पुत्र भनेर कहलिएका सन्थालहरू अहिले भूमिहीनजस्तो भएका छन्। ५०-६० वर्ष अगाडिसम्म आफ्नै भूमि भएका सिधा, सरल, अपठित सन्थालहरूलाई  केही मुठ्ठीभर पहाडी र तराई मूलका टाठा-बाठा व्यक्तिहरूले मीतको , ज्वाईंको साईनो लगाएर, रक्शी खुवाएर जग्गा आफ्नो नाममा बनाउने काम गरे। उनीहरूलाई शोषण गरेर, भूमिहीन सुकुम्बासी बनाएर आफ्नै घरमा नोकर बनाउने सम्मको घीन लाग्दो काम गरे।
जसको परिणाम स्वरूप नेपालको गहनाको रूपमा रहेका सन्थालहरू अहिले बिस्तारै बिस्तारै पलायन हुँदै गईरहेका छन्। यो क्रमलाई रोक्नु राज्य र हामी सबैको दायित्व हो। अहिलेको देशको बदलिँदो परिस्थितिमा, संविधान निर्माणका क्रममा,पहिचान र जात-जातीको कुरा उठिरहेको अवस्थामा यस्ता अल्प संख्यक जातीको हक,अधिकार र मौलिक परम्परालाई जोगाई राख्न संबिधानमा नै उल्लेख गरेर उनीहरू पनि यस राज्यका नागरिक हुन् भन्ने अनुभूति दिलाउन सक्नुपर्छ।
                                                   
Pictures : (Facebook, Radha Niroula /Dilip kumar Baske/ Bikash Pokharel / )

1 Oct 2014

यूरोपियनहरूले हेर्न लगेका तर फिर्ता नगरेका किताबहरु

8 October 1860 का दिन सरकारी पुस्तकालयमा श्री ३ महाराज जंगबहादुर जाँदा त्यस पुस्तकालयका हाकिमले श्री ३ जंगसँग पुस्तकालयको दुर्लभशास्त्रका किताबहरू यूरोपियनहरूले हेर्न लगेका तर फिर्ता नगरेका किताबहरुको सूची पेश गरे। सो सूची यसप्रकार छ। 

१ ) बज्रवती तन्त्र - ताडपत्रमा लेखिएको।
२ ) गुहयपीठ तन्त्र  - ताडपत्रमा लेखिएको।
३ ) धर्मपत्रिका तन्त्र  - ताडपत्रमा लेखिएको।
४)  महानिर्वाणतन्त्र
५ ) शिवधर्मतन्त्र
६ )  तन्त्र ख्यान
७ ) करबीरतन्त्र
८ ) महाकालतन्त्र
९ ) परतन्त्र
१० ) महारोशण तन्त्र
११ ) कालचक्र तन्त्र
१२ ) हे बज्र तन्त्र
१३ ) चन्द्र महारोशण तन्त्र
१४ ) येकबीर तन्त्र
१५ ) परमेश्वोर तन्त्र
१६ ) निस्पन्न योगाम्बर तन्त्र
१७ )  अष्ट रहश्रीका प्रज्ना प्रमीता
१८ ) आदी योग समाधि
१९ ) दुधीसत्व वदना कलुपलता
२० ) अायर्याबलो पीतेश्वोर गुनकरंद व्युह
२१ ) लोकेम्बर पराधीता
२२ ) प्रत्यान्जीरा
२३ ) बसुन्धराकल्प
२४ ) लोकेश्वोर सटक
२५ ) मुद्रा राक्षक
२६ ) सिद्धान्त दीपिका
२७ ) कामशात्र
२८ ) गुहय समाज
२९ ) त्रियायोग सार
३० ) बेदाङ्ग
३१ ) राजनीति सार
३२) मेघसूत्र
३३ ) युद्ध जयानब
३४) अंग बिद्याज्योतिष
३५) बराहमी हीराकृत जोतिष
३६) बज्र सूत्री


श्रोत- "श्री ३ हरूको तथ्य बृतान्त" लेखक पुरुषोत्तमशमशेर ज.ब.रा.





29 Jul 2014

पातलेटार

                     भक्तपुर जिल्लाको दधिकोट गा.वि.स.मा पर्ने पातलेटार गाउँ मनमोहक र सुन्दर छ।
(Photo : Janak Bhatta From Google Map)


नाउँ हो पातलेटार गाउँ हो दधिकोटको
हरियाली सबैतर्फ लाग्छ स्वर्ग सामान यो।
                       १

जसरी  बस्दछन् बच्चा मातृकाको सुसाथमा
त्यसरी नै बसेको छ पहाडसित  काखमा।
                         २

वनपुष्प,लता-कुञ्ज झुल्छन् हेर पहाडमा
पवनसाथ नाच्दैछ धान सरर्र फाँटमा।
                         ३

सिर्र-सिर्र हवा चल्छ तरंग बग्छ पातको
शीत खुशी बनी हेर्छ झुल्के घाम प्रभातको।
                          ४

कालो मेघ घना बन्दै पहाडमाथि घुम्दछ
बर्साई जलको धारा धरणीधर चुम्दछ।
                          ५

प्रफुल्ल मन पारेर पातलेटार हाँस्दछ
सँगसँगै रमाएर विहङ्ग पनि नाच्दछ।
                          ६ 

19 Jul 2014

गजल




नाच्छ पन्छी अहो, फुर्किएको किन ?
दुख्छ पीडा झनै,चर्किएको किन ?
                  (१) 
हुन्छ बर्षा जसै पोल्छ छाती किन ?
मेघ गर्दै गुडुङ् दर्किएको किन ?
                  (२)
जून साक्षी थिए दृष्य हेर्थे रमी 
प्रीत तोडी तिमी तर्किएको किन ?
                  (३)
बात धेरै भए रात धेरै कटे 
सोम्य वाणी थियो झर्किएको किन ?
                  (४)


(श्रग्विणी छन्द)

१७ जेठ २०७१, IMAGE NEWS 103.6 F.M.बाट प्रसारित। 

14 Jul 2014

शावधान। शावधान।।शावधान।।।

मानव ढुङ्गेयुगबाट बिकसितहुँदै आजको यो वैज्ञानिक युगसम्म आइपुगेको हो। यसबीचमा उसले अनेक संघर्ष, खोज र लगनशीलताबाट यो उपलब्धि हाँसिल  गरेको हो। अन्यथा सम्भव थिएन।  आज हामीले जे -जति वस्तु,सुबिधा उपभोग गरिरहेका छौँ यो सबै यसैको प्रतिफल हो। सामान्य टाउको दुख्दा सिटामोल, चराको खुट्टामा बाँधेर पठाउने चिठ्ठी अहिले फोन वा ईमेलबाट, धूलोमा लेख्नुपर्ने क-ख अहिले कम्प्युटरबाट, छाया नापेर वा कुखुरो कराउँदा पत्तालगाउने समय अहिले घडीबाट अनि रूखका बोक्रा लगाउने शरीरमा कपडाले स्थान लिईसकेको छ। तर यो कस्तो अपवाद। साईकलमाथि फलामको बाकशभित्र, पलास्टिकका बट्टामा जडीबुटीभन्दै बेच्दै हिँडेको।जडीबुटीलाई नकार्न सकिदैन तर स्वाथ्य संस्थाको स्वीकृती बिना यो सरासर गलत छ। ''१०१ रोगका एकसे एक अौषधि'' भन्दै स्त्रीका स्तन घटाउने र बढाउने,योनीबाट सेतो पानी बग्ने, पुरुषका लिंगका साइज बढाउने, जण्डिस, मधुमेह,गानो-गोला, सम्पूर्ण रोगको अौषधि यहाँ पाइन्छ भन्दै माइकिंग गरेको। यसको कसरी विस्वास गर्ने? यसले मानवीय स्वाथ्यमा कस्तो असर पार्छ ? यो नबुझिकन यसको प्रयोगले अन्य समस्या उब्जाउँछ। त्यसैले शावधान। शावधान।।शावधान।।। खरीदकर्ताहरू।

8 Jul 2014

यो बन्द होईन

बाटो खाली छ, सुनसान छ। यो बन्द वा हडतालका कारणले होईन।हाम्रो देशमा केहि वर्ष अगाडिसम्म राजा, महाराजा थिए। उनीहरूको बेग्लै शान, रवाफ थियो। कतै सवारी हुनुपर्योभने सडक खाली गराएर मात्र सवारी चलाउथे। नागरिकहरूमा त्यसको मार पर्थ्यो तर अभिव्यक्त गर्न सक्दैनथे। जनता पीडा सहन बाध्य थिए। हाम्रा अग्रजहरू  त्यो कुराको विरोध गर्थे। अहिले जनताको छोरा राष्ट्रको सर्वोच्च पदमा बिराजमान छन्। हिजो उनले जूनकुराको विरोध गरे आज त्यहिकुराको पुनरावृत्ति गरिरहेका छन्। कतै जाँदा सडक नै खाली गराएर। जबकि उनको सवारी साधन धेरै हदसम्म सुरक्षित हुन्छ।यसको प्रत्यक्ष असर सम्पूर्ण नागरिकमा पर्न जान्छ।उनले जनताको पीरमर्कालाई ख्याल गर्नुपर्ने हुन्छ। यदि इज्जत र सम्मान का लागि बाटो खाली गरेको होभने यसको उल्टो असर पर्नसक्छ।उनको यो कार्यले जनतामा कस्तो असर पर्छ, उनीप्रतिको धारणा कस्तो बन्छ ? हेक्का राख्नु आवस्यक छ।

29 Jun 2014

कोतपर्वमा को-को मारिए

विक्रम सम्बत १९०३ भदौ ३१ गते(14 September 1946) राती करीब दश बजेतिर जनरल गगनसिंह भण्डरीको आफ्नै घरमा पूजा गर्न लागिरहेको अवस्थामा छानामा रहेको आँखीझ्यालबाट गोली हानी उनको ह्त्या गरियो। प्रेमी गगनसिंहको हत्याभएको थाहापाएपछि महारानी राज्यलक्ष्मी अति क्रोधित भएर गगनसिंहको हत्याको बदलालिने शपत लिइन्।उनले गनसिंहको हत्यारा पत्ता लगाउने कामको जिम्मा जङ्गबहादुरलाई दिइन्।तर स्वयं जंगबहादुर,प्रधानमन्त्री चौतारिया फत्यजंग शाह र अभिमानसिंहले नै गगनसिंहको हत्या गर्नुपर्ने ठहरगरि सोको जिम्मा जङ्गबहादुरलाई दिएका थिए।चलाख जङ्गबहादुरले गगनसिंहको हत्या आँफैले नगरी अरू कसैबाट गराएका थिए।उक्त हत्या कसले गर्यो भनेर आजसम्म पनि पत्ता लाग्न सकेको छैन। हनुमानढोका राजदरबारको कोतभित्र सम्पूर्ण भाइ-भारदार उपस्थित भएका थिए।  जंगबहादुर र प्रधानमन्त्री चौतारिया फत्यजंग शाह महारानी राज्यलक्ष्मीलाई भेट्न शीशमहल गएकाबेला कोतमा अचानक नरसंहार मच्चियो। चौतारिया, थापा, बस्नेत, पांडे खलक र जङ्गबहादुरका समर्थकवीच काटामार भयो।  अन्त्यमा जंगबहादुर पक्षको जीत भयो। यहि कोतपर्वबाट शक्तिशाली जङ्गबहादुरको उदय भयो।यस कोतपर्वमा मारिएका ३१ जना, भागेका २९ जना,मुडिएका ३ जना, परिवारसहित निष्कासित भएका ५ र एक्लै निष्कासित २१ जना रहेका थिए।

कोतपर्वमा मारिनेहरूको  नाम
१) प्रधानमन्त्री चौतारिया फत्यजंग शाह
२) नीजका छोरा चौतारिया खड्गबिक्रम शाह
३) चौतारिया नरहरि बिक्रम शाह                                        
४) कप्तान चौतारिया वीरबहादुर शाह
५) जनरल अभिमानसिंह रानामगर
६) काजी दलभञ्जन पांडे
७) काजी रणगम्भीर पांडे
८) काजी रणजोर थापा
९) काजी नरसिंह थापा
१०) काजी चौतारिया गोप्रसाद शाह
११) काजी चौतारिया दलबहादुर शाह
१२) काजी बखतवीर भण्डारी
१३) कपरदार वीरकेशर पांडे
१४) कपरदार कीर्तिध्वज पांडे
१५) सर्दार भवानीसिंह खत्री
१६) सर्दार समरबहादुर शाह
१७) सर्दार गुणप्रकाश शाह
१८) सर्दार रससिंह
१९) सर्दार शत्रुभञ्जन शाही
२०) सर्दार युद्धरञ्जन शाही
२१) काजी अर्जुन थापा
२२) कप्तान मोहनवीर शाही
२३) नीजका छोरा कप्तान वीरबहादुर शाही
२४) बद्रीवान शाहीका छोरा
२५) कुम्मेदान गैडा मल्ल
२६) ददा दण्डकेशर
२७) द्वारे जोगराज
२८) जम्दार कत्रु
२९) जम्दार बिष्णुभक्त
३०) हवलदार कालु खवास
३१) अर्दली इन्द्रवीर राउत


श्रोत- "श्री ३ हरूको तथ्य बृतान्त" लेखक पुरुषोत्तमशमशेर ज.ब.रा.

18 Jun 2014

यो कसले हेर्ने हो ?

भन्नलाई लाज हुन्छ, नभनि पनि नहुने। यो कस्तो बाध्यता। नेताले भ्रस्टाचार गर्छ। कर्मचारीले भ्रस्टाचार गर्छ। व्यवसायीले असीमित कमिसन लिएर भ्रस्टाचार गर्छ। सरकार पनि आर्थिक वर्ष सकिने समयमा काम गरेजस्तो गर्छ। सेवाप्रदायक संस्थाले सेवाग्राहिलाई समयमा सेवा दिँदैन। आवाश,शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, बिजुली,यातायात, इन्धन,बजार ब्यवस्थापन लगायतका क्षेत्र  कतै पनि सरकारले ध्यान दिँदैन।  सबैतिर बेथिति मात्र छ। जनता बाँचेपनि मरेसरह छन्। जनतामा उल्लाश छैन,उमंग छैन। श्वासमात्र फेरेका छन्। त्यो श्वास पनि शुद्ध छैन, धूलो र धुवाँले भरिएको छ। गरीब देशमा किन यस्तो हुन्छ? परिमाणका हिसाबले धेरै र थोरै मात्र हो, तर विश्वका सबै गरीब देशमा यस्तै हो। धारा छ  पानी छैन, पेट्रोल पम्प छ इन्धन छैन, बिजुली छ  उज्यालो छैन। आजकल बानेश्वोर, दरबारमार्ग, सुनधारा, न्युरोडका सडक ,चौक,ओवरहेड ब्रिजमा पैसा माग्नेको भिंड हुन्छ।बिदेशी पर्यटक ,सामान्य मानिस  छलिएर हिँड्नु पर्ने अवस्था छ। यस्तो किन भइरहेको छ ? उनीहरूले आफ्नो जीवन धान्न, पेट भर्न मागेका हुन् कि अथवा कुनै गिरोहको काम हो ? यो कसले हेर्ने हो ? कसले अनुशंधान गर्ने ? यदि यो गलत कार्यलाई समयमै रोकिएन भने नेपाल र नेपालीले लज्जाबोध गर्नुपर्नेछ।


3 Jun 2014

Blood Donation




Donating blood to 5 years old child, Dikshya Khanal who is under treatment in Kanti Bal Hospital, Kathmandu on 2nd June, 2014





29 May 2014

जसो जसो मेडम त्यसो त्यसो स्वाहा

बैंकिंग क्षेत्रको इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड हो। यो बिक्रम सम्बत १९९४ साल कार्तिकमा स्थापना भएको हो। यसले स्थापना भएको ७६ औं वर्षको लामो समयावधि पार गरिसकेको छ। तीनताका कार्यालयमा कम्प्युटर प्रणाली नहुँदा पनि ढड्डामा कलम घोटेर, हात दुखाएर जनतालाई सेवा प्रदान गरेकै हो। तर इतिहास बोकेको, राम्रो नारा भएको भनेर मात्र कहाँ हुँदोरहेछ र ? समय र प्रबिधिको बिकाशसँगै चल्न सक्नु पर्ने रहेछ। बूढा तथा पुराना प्राबिधिक ज्ञान कम भएका कर्मचारी अनि नयाँ प्रबिधिको विकास। यहीँ चुकिरहेको छ नेपाल बैंक। यस वीचमा धेरै नीजि बाणिज्य बैंक, बिकाश बैंक र आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरू खुले। नीजि बैंकमा कम कर्मचारी हुँदा पनि उनीहरूको सेवासुविधा राम्रो र चुस्त छ। तर नेपाल बैंक लिमिटेडमा कर्मचारीहरूको संख्या अनुशार सेवा हेर्यो भने उदेक लागेर आउँछ।त्यसको ज्वलन्त उदहारण हो काठमाण्डुको "डिल्लीबजार शाखा'' / ११ जेठको दिन पानी परिरहेको थियो। बाटो बिस्तार गर्ने क्रममा बाटो भत्काएको हुनाले यो सडक हिलाम्य थियो। बैंकिंग काम परेकोले पानीमा भीज्दै म यो शाखामा पुगेको थिएँ। सर र मेडमहरू यूनिफॉर्ममा सजिएर आँखा तन्काउंदै, चस्मा मिलाउँदै सकि नसकी कम्प्युटरमा डाटा नियालिरहनु भएको थियो। वहाँहरूको स्थिति देख्दा ''सजाय दिएझैँ" लाग्थ्यो। चेक सटहिका क्रममा मेरो परिचय पत्रको फोटोकपी गर्नुपर्ने भयो। मेडमले ''फोटोकपी गरेर ल्याउनुहोस् '' भन्नुभयो। मैले '' यहाँ छैन?'' भनेर प्रतिप्रश्न गरेँ।वहाँले झर्किँदै '' हाकिमलाई कम्प्लेन गर्नुस्'' भन्नुभयो। म लुरुलुरु हिलो बाटोमा पानीमा भीज्दै पुतलीसडक पुगेर फोटोकपी गरेर गएँ। चेकको साइन भेरिफाई गर्ने बेलामा मलाई भित्र बोलाउनु भयो। कुनै पनि बैंकको टेलरमा जाने अनुमति हुँदैन सुरक्षाको कारणले गर्दा । कस्तो अचम्म। बाहिर ढोकामा चाहिँ हतियारधारी सुरक्षाकर्मी तैनाथ राख्ने अनि भित्र यस्तो लापरवाही। म भित्र टेलरमा गएँ। वहाँसँग चेक लिएर अर्को सरको टेबलमा पुगें। मेरो पछि अर्को ग्राहक पनि भित्र आउनुभयो। हामीले पनि ''जसो जसो मेडम त्यसो त्यसो स्वाहा'' गर्यौं। मैले आफ्नो रकम लिएँ। तर यो कुरामा मलाई चित्त बुझिरहेको थिएन। विषेश गरी सुरक्षालाई लिएर। अझभनौँ कर्मचारीको घोर लापरवाही प्रति। म सरासर शाखा प्रबन्धक यादव प्रसाद शर्माको कक्षतिर लागें। यो विषयमा जानकारी दिन। वहाँलाई सबै कुरा अवगत गराएँ। मेरो कुराले उहाँ अलिक झस्कनु भयो। वहाँले '' टेलरभित्र जाने अधिकार कसैलाई छैन। वहाँहरूले किन त्यस्तो गर्नुभयो म तुरुन्त बुझ्छु भन्नुभयो। फोटोकपी मशिनको दुरुपयोग भएकोले नाराखेको हुँ '' भन्नुभयो। र अन्त्यमा यो पनि भन्नुभयो ''फोटोकपी मेशिन माग गर्छु ''/  म वहाँलाई ''धन्यवाद'' भन्दै बाहिरिएं।  

25 May 2014

संकटमा सडक व्यपार

 साँझको  करिब ६ बजेको थियो।  रत्नपार्कका सडक व्यापारीहरूले सडकको पेटी सामानले भरेका थिए। बटुवाहरूलाई पेटीमा हिँड्न गाह्रो भइरहेको थियो। सडक  व्यपारीहरू हातमा सामान देखाएर ठूलो-ठूलो आवाजमा कराईरहेका थिए रू १५०-१५० भन्दै। कोही घडी देखाउँदै थिए, कोही टि-शर्ट देखाउँदै थिए भने कोही बेल्ट देखाउँदै थिए। तर उनीहरूका आँखा चारैतिर दौडिरहेका थिए। मनमा डर थियो कतै प्रहरी आएर आफ्नो सामान लिएर जाने त होईन ? किनभने सरकारले सडकपेटीमा व्यपार गर्न मनाही गरेको थियो।व्यवस्थित शहर बनाउन यो आवस्यक पनि थियो। तर सरकारी यो नीतिले उनीहरूको रोजगारीमा तुसरापात पारेको थियो।हात-मुख जोडन गाह्रो परिरहेको थियो। धेरै पैसा लगानी गरेर ठूलो व्यवसाय गर्न सक्ने क्षमता उनीहरूमा छैन। उनीहरूले सरकार बिरुद्ध नारा, जुलुश तथा बिरोध प्रदर्शन पनि गरे। तर त्यसको सरकारी पक्ष बाट कुनै सुनवाई भएन। सरकारको आदेशलाई उलंघन गर्दै उनीहरूले पसल थाप्दै आइरहेका थिए।
            एकाएक वातावरण आतंकित बन्यो । प्रहरी देख्नासाथ हतार-हतार सबैले आ-आफ्ना सामान उठाएर दगुर्न थाले। व्यपारीहरुले प्रहरीलाई गाली-गलौज गर्न थाले। दुई समूहवीच घम्सा-घम्सी भयो।  अन्त्यमा सडक व्यपारीहरू तीतर -बितर भए। केही समय पस्चात वातावरण शान्त भयो। यस्तो अवस्था कहिलेसम्म जारी राख्ने हो ? यो समस्याको समाधान कसरी गर्ने ? दुवै पक्ष बसेर यसको वैकल्पिक उपाय तुरुन्त निकाल्नु पर्ने हुन्छ।  अन्यथा यसले जटिल अवस्था निम्त्याउन सक्छ।

















18 May 2014

गजल

                                                               




न हाँसो कसैले मलाई दिए है 
निभाए कहाँ खै जलाई दिए है।  
                (१ )

पराया हुनेले नभेटे नि जाति 
थियो शान्त पानी चलाई दिए है।  
               (२ )

रसाएर आँखा भिजे है परेला 
खुशी दिन्छु भन्दै रुवाई दिए है।  
               (३ )

कि ऊ मात्र छे, या छ भट्टी त साथी 
कहाँ सक्छु रोक्न पिलाई दिए है।  
               (४ )

न प्रेम छ मीठो, न रक्सी छ मीठो 
न चाख्नै छ राम्रो चखाई दिए है।   
                (५) 

१ चैत्र , २०७०  रेडियो मैत्री नेटवर्कबाट प्रसारित। 

3 May 2014

श्री ३ महाराज जङ्गबहादुरका श्रीमतीहरूको नाम

श्री ३ महाराज जङ्गबहादुरका श्रीमतीहरूका  विषयमा हामीले धेरै कुराहरू सुन्दै आएका छौ / उनका  मुख्यानी ,बडामहारानी, महारानी,रानी र नानी गरेर ४२ वटी श्रीमतीहरू थिए/ 

१ ) मुख्यानी प्रसाद लक्ष्मी 
२ ) जेठी महारानी नन्दकुमारी                  
३ ) पुतली महारानी                                 
४ ) गंगा महारानी 
५ ) माहिली रानी 
६ ) माहिली कान्छी रानी ''एककुमारी'' 
७ ) साँहिली  रानी 
८ )   साँहिली महारानी ''भक्तकुमारी देवी''
९ ) श्री ३ वडामहारानी हिरण्यगर्भदेवी ''मैया महारानी'' 
१० ) महारानी हेमकुमारी देवी ''अन्तरी महारानी'' 
११ ) महारानी विष्णुकुमारी देवी 
१२ ) यज्ञकुमारी देवी ''नौली महारानी'' 
१३ ) काँहिली महारानी 
१४ ) अर्की  काँहिली महारानी सिद्धी गजेन्द्रलक्ष्मी 
१५ ) कान्छी महारानी
१६ ) राम्री महारानी
१७ ) गोरखपुरे महारानी
१८ ) मिना महारानी '' दाखचोके महारानी ''
१९)   सानी महारानी
२० ) मिश्री महारानी
२१ ) अन्तरी महारानी
२२) अन्तरी रानी
२३ ) जन्तरी     रानी
२४ ) रानी हिमकुमारी देवी
२५ ) रानी हेमकुमारी देवी
२६ ) आँधीखोले रानी
२७ ) दीपा रानी
२८ ) नूरी रानी
२९ ) भागी रानी
३० )साँहिली  रानी
३१ ) श्यामा रानी
३२ ) रानी राधा देवी
३३ ) रानी रणकुमारी देवी
३४ ) जीना रानी
३५ ) सत्यभामा रानी
३६ ) रानी शुभकुमारी देवी
३७ ) काली रानी
३८ ) जवाँ नानी
३९ ) जोगमाया नानी
४० ) महारूपा रानी
४१ ) मणि नानी
४२ ) धाई नानी





श्रोत - ''श्री ३ हरूको तथ्य बृतान्त'' लेखक पुरुषोत्तमशमशेर ज.ब.रा.



                   

28 Apr 2014

फेसबुक, ट्विटर, र ब्लग





 फेसबुक, ट्विटर, र ब्लग विश्वमा चलेका प्रमुख सामाजिक सञ्जालहरु हुन्। नेपालमाभने ट्विटर, र ब्लग भन्दा फेसबुकको प्रयोग बढी छ। हामी कतिपय नेपाली फेसबुक प्रयोगकर्तालाई  ट्विटर र ब्लगको सामान्य जानकरी पनि छैन।  यसो हुनाको प्रमुखकारणहरूमा  (१) अध्ययनप्रति रुचि नहुनु (२) फेशनबाट प्रभावित हुनु र ( ३) लेखकीय कौशलता नहुनु आदि हुन्। ट्विटरमा सूचना तथा सन्देश बढीमात्रामा आदान-प्रदान हुनुका साथै विषयवस्तुमाथि गहन अन्तरक्रिया पनि भईरहेको हुन्छ। ब्लगमा भने साहित्य सृजना , सस्मरण , यात्रा लगायत मानवीय सम्बेदनालाई समेटेर लामा अथावा छोटा लेखद्वारा पेज भरिएको हुन्छ। तर फेसबुकमा भने अपवाद छोडेर यी कार्यबाट मुक्त भए हुन्छ। यसोभनौँ  "फोटो राखेर" कतिवटा लाईक र कमेण्ट आए भनेर हामी गनेर बसिरहेका हुन्छौं  यसको मतलब यो होइनकि फेसबुकमा सुचना र ज्ञानगुनका कुरा नै हुँदैनन्। तर हामी अधिकांस फेसबुक प्रयोगकर्तामा पढ्ने क्षमताको पुर्ण विकाश भएकै छैन। अलिक लामा विचार वा लेखहरू प्राय कमले नै पढ्छौं ।  लाइक र कमेन्ट नगन्य मात्रामा हुन्छन्। अझ कहिलेकाहिं त "स्टाटस" नपढ़ीकन लाइक गरिरहेका हुन्छौँ । कतै आजको यान्त्रिक युगमा समय अभावका कारणले पो यसो भएको हो कि ? भनौंभने पनि घन्टौंसम्म च्याटिंग गरिरहेका हुन्छौँ ।
                 अझ खेदपूर्ण कुरा त कसैको  निधन वा दुर्घटना आदिको खबरमा  पनि " लाइक" गरिरहेका हुन्छौँ । यो भन्दा बिडम्बना अरू के हुनसक्छ र।


7 Apr 2014

जंगबहादुरको वेलाइत यात्रा

                            

         यस किताबका लेखक को हुन् भन्ने जानकारी अहिलेसम्म पाइएको छैन। तर भ्रमणटोलीकै एक सदस्यले लेखेको हुनुपर्छ भनेर यो किताबका सम्पादक कमल दीक्षितले भन्नुभएको छ।  जंगबहादुरले बि.स. १९०६ माघ महिना  (सन् 1850) मा वेलायत भ्रमण गरेका थिए। उनको वेलायत भ्रमणको खास आसय ब्रिटिश सम्राज्यको शक्ति र विकाश हल्लामात्र हो कि वास्तविक हो भनी जान्नु पनि रहेको थियो। उनका साथमा दुई भाइहरू जगत शमशेर राणा र धीर शम्शेर राणा लगायत २५ जनाको टोली थियो। चिसापानी किल्लाको बाटोहुँदै पत्थरघाट पुगेर त्यहाँको जंगलमा ४ वटा हात्ती पक्रिएका थिए र केही बाघहरू पनि मारेका थिए। उनी त्यहाँबाट पटना हुँदै कलकत्ता पुगे। पटना र कलकत्तामा उनको भब्य स्वागत भयो। कलकत्ताबाट लंका,एडेन, इजिप्ट, माल्टाहुँदै लण्डन पुगे। पानी जहाजमा जंगबहादुरले बिभिन्न चमत्कारिक कार्यहरू पनि गरेका थिए।  उनीहरूले जहाजमा आफ्नोलागी आफैँ खाना पकाएका थिए। लण्डनमा  उनको स्वागत बडा  तामझामका साथ गरियो।यसको मुख्य कारण जंगबहादुरले ब्रिटिशलाई हिन्दुस्थानमा गरेको सहयोग थियो। लेखकले वेलायतको समाज, संस्कार, रीति-थीति, संसदीय व्यवस्था, नियम तथा कानूनको बारेमा राम्रोसँग दर्शाएका छन्।  वेलायतको  तीन महिनाको  बसाईपछि उनी फ्रान्सतिर लागेका छन् / वेलायतमा जंगबहादुरको भ्रमणलाई जति उच्चरूपमा लिइयो त्यति फ्रान्सले नलिएको जस्तो लाग्यो। तथापि स्वागतमा कुनै कसूर भने छोडेन। ४० दिन फ्रान्स बसेर उनी बम्बई आएका थिए। यसरी फर्किनेक्रममा बनारसका कुटुक महाराजकी मैया सँग विबाह गरेका थिए।
            जंगबहादुरको वेलायत र फ्रान्स यात्रालाई त्यहाँका पत्र पत्रिकाहरूले उच्च महत्वका साथ समाचार प्रकाशित गरेका थिए ।    
                         (फ्रान्सको एउटा पत्रिकाले जंगबहादुरको स्क्याच फोटो यसरी प्रकाशन गरेको छ )
                       (वेलायतको  पत्रिकाले भने चैं  जंगबहादुरको स्क्याच फोटो यसरी प्रकाशन गरेको छ )




ऐतिहासिक, ज्ञानबर्धक, र मनोरन्जनपूर्ण " जंगबहादुरको वेलायत यात्रा" एकपटक अवस्य पढों।









24 Jan 2014

शम्भुदाको चिया पसल

"शम्भुदा" हामीले सम्मानसाथ बोलाउने नाम / उमेरले प्रौढ भएपनि विचारले युवा / पुतली सडकमा शम्भुदाको "चिया पसल" भनेर थाहा नपाउने व्यक्ति बिरलै होलान् / बाग्मतीमा कति पानी बग्यो तर दुई दसकदेखि त्यहि ठाऊँमा त्यहि पेशा / शैक्षिक परामर्शदाता,बिद्यार्थी, गायक, गीतकार, संगितकार,र सिनेकर्मीहरुको संगमस्थल नै हो यो / अनि उधारो खानेहरूका लागि तीर्थस्थल / अझ फ्री वाई-फाई। वाह !सुनमा सुगन्ध / एककप चिया होस् वा एकखिली चूरोट पिएर एक-दुई घन्टासम्म बसेर ईन्टरनेटको  मजा लिनेहरूको कमी छैन यहाँ / " दिलका उदार र मनका धनि " शम्भुदा दोलखाबाट काठमाण्डु आउनु भएको हो / सगैँ आएका मध्ये कतिले राम्रो कमाई गरेर आनन्दसाथ बसेका छन् / तर गुमनाम छन्, चिनेकाछन् त मात्र उनीहरूका आफन्तले /  तर सोचे अनुसार तरक्की नभएपनि, आर्थिकरूपमा चमत्कारिक परिवर्तन नभए पनि सधैं शान्त, धीर ,र मुस्कान प्रेमी शम्भुदा पसलबाट पैसाभन्दा पनि इज्जत,मान र सम्मान कमाएर बस्नुभएको छ /  पसलमा  उधारो खाएर पैसा नतिर्नेहरुको नाम सायद लिस्टमा समेट्न पनि गाह्रो हुन्छ होला / तर पनि वहाँको मुहारमा चिन्ताको झलक देख्न पाईदैन / तर व्यवसायिक शैलीमा पसल संचालन गर्नखोज्ने वहाँका छोराहरु शम्भुदाको यो उदारताप्रति रुष्ट छन् / कहिलेकहिं म ठट्टा गर्दै भन्छु " तपाईं त समुन्द्र नै हो जसबाट एक -दुई गाग्रो पानी निकालिकन केही फरक पर्दैन /" वहाँ मात्र यसो भन्नुहुन्छ " के गर्नु बाबु, यस्तै हो /"  वास्तवमा " लिँदा ख़ुशी हुनेभन्दा दिँदा ख़ुशी हुने" शम्भुदाको चरित्र हो / वहाँको लागि " सामान बेच्नु" नै ठूलो कुरा होइन /  उमेर अनुसार यो खानु ठीक -यो खानु बेठीक भनेर सल्लाह सुझाव समेत दिनुहुन्छ / त्यसैले त वहाँका  सुभचिन्तकहरु यूरोपदेखि अमेरिकासम्म  अनि आस्ट्रेलियादेखि इण्डियासम्म नै छन् /